चेपाङलाई दसैं टार्न पिरलो

  • प्रकाशित मितिः आश्विन २६, २०७८
  • उज्यालो प्रदेश
alt

दसैं नजिकिँदै जाँदा सुन्दराङकी विष्णुमाया चेपाङलाई पिरलो छ। आठ जनाको परिवारमा के खाने के लाउने भन्ने कुराले उनी रातभर सुत्न सक्दिनन्।

दसैं मान्नका लागि पैसा छैन। चामल, नुन, तेल कहाँबाट ल्याउने भन्ने चिन्ताले विष्णुमायालाई पिरोलिरहन्छ। मासु किन्नमात्रै दुईहजार चाहिन्छ। छोराछोरीको अनुहार हेरेपछि मन रुन्छ। ‘दसैं आयो खर्चको जोहो कहाँबाट गरौंला भनेर बसेको छु’, उनले भनिन्, ‘छोराछोरीले मीठो खान पाउँदैनभन्दा नरमाइलो लाग्छ।’ डाँडाको पाखामा मकै बाहेक केही हुँदैन। त्यो पनि यसपटक किराले खाएपछि घरमा अन्नको अभाव छ।

अहिले चेपाङको चिन्ता दसैं हो। दसैंमा खर्च जुटाउन नसकेपछि उनीहरू दुःखी छन्। विष्णुमायाको जस्तै हरेक चेपाङको घरमा चाडबाडको पीर छ। इच्छाकामना–१ जयथलीकी सानिमाया चेपाङलाई पनि उही पीडा छ। ससुरा, श्रीमान् र तीन सन्तान छन्। उनीहरूलाई चाडबाड मनाउनका लागि खर्चको जोहो गर्नै पिरलो छ। दसैं मान्न घरमा केही खानेकुरा छैन। किनेर खान पैसा छैन। ‘चाडबाड आए सधैं नरमाइलो लाग्छ’, सानिमायाले पीडा सुनाइन्, ‘आफू त चित्त बुझाउँला छोराछोरीलाई के भनेर मनाउनु ?दसैंमा चामलको भात खाने ठूलो रहर छ।’

चेपाङ बस्तीको हरेक परिवारमा दसैंको चिन्ता छ। आम्दानीको स्रोत नभएको परिवारमा समस्या छ। चेपाङको दसैंमा माछा मासु अनिवार्य हो। आर्थिक अभावमा झेलिएका उनीहरू चाडबाड नआए हुन्थ्यो भन्ने ठान्छन्। ‘अरुको जस्तै रमाइलो गर्न हामीलाई पनि रहर छ’, स्राप्रनीकी दिलकुमारी चेपाङले भनिन्, ‘कमाई भए पो रमाइलो हुनु, यसपटक भुराहरू रुने भए।’ श्रीमान् र चार सन्तान छन्।

चितवनको पहाडी क्षेत्रमा बसोबास गर्ने अधिकांश चेपाङहरूको आर्थिक स्रोत छैन। ज्याला मजदुरी गरेर परिवार पाल्छन्। कोभिडका कारण ज्याला मजदुरी गर्न पाएनन्। चेपाङ समुदायलाई आफ्नो उत्पादनले ६ महिना खान पनि धौ–धौ हुने गरेको छ। हरेक वर्ष आउने दसैं चेपाङ समुदायको लागि दसा जस्तै हो।

भत्ताको भर
शुक्रबार मकवानपुरको राक्सिराङ चैनपुरस्थित बैंक अफ काठमाडौं शाखामा वृद्धवृद्धाको लाइन थियो। सय जना वृद्धवृद्धा, शारीरिक अशक्तलगायत टाढाबाट पुगेका थिए। चर्को घाममा बैंक नजिकै शीतल छहारीमा टोलाउँदै गरेकी ६२ वर्षीय सानुमाया चेपाङलाई वृद्धभत्ता बापतको रकम बुझेपछि बल्ल दसैं आएको महसुस भयो। ‘बिहान ४ बजे हिँडेर आएको, बल्ल पैसा पाइयो। यही पैसाले दसैं किनमेल गरेर घर जान्छु’, राक्सिराङ–४ खैराङकी उनले भनिन्, ‘अरू केही आम्दानी छैन, यही भत्ताको भरमा दसैं मान्ने हो।’

मध्यान्नको चर्को गर्मीमा लाइन बसेकी ६८ वर्षीय ठूलीमाया मोक्तान पनि १२ हजार रुपैयाँ बुझेपछि निक्कै खुसी देखिन्थिन्। सात जनाको परिवारमा दसैं मान्ने स्रोत यही भत्ता मात्र हो। गाउँपालिकाभित्र मात्र एकल, अशक्त र अन्य सामाजिक सुरक्षा भत्ता पाउने करिब चार हजार रहेको गाउँपालिकाले जनाएको छ।

‘यस क्षेत्रका मानिसहरूको अन्य आम्दानीको स्रोत न्यून छ, भत्ताको भरमा चाडपर्व मान्ने धेरै छन्’, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गड्तौलाले भने, ‘सबैले सहज रूपमा भत्ता पाउन् भनेर हामीले बैंकलाई सहजीकरण गरिदिइरहेका छौं।’ अन्नपुर्णबाट

प्रतिक्रिया दिनुहोस

प्रदेश १ की फरार सांसदलाई पक्रन प्रहरी सक्रिय

इटहरीः सरकारी छाप र हस्ताक्षर किर्ते गरेको आरोप लागेकी प्रदेश १ की नेकपा एमाले तर्फकी प्रदेशसभा सदस्य गुलेफुन खातुन मियाँलाई गिरफ्तार गर्न प्रहरीले सक ...

कांग्रेसको कलहले लम्बियो आचार्य सरकारको आयु

विराटनगर । प्रमुख विपक्षी नेपाली कांग्रेसको आन्तरिक किचलोका कारण प्रदेश–१ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको ...

बाइकको ठक्करबाट एक महिलाको मृत्यु

लेटाङ । मोरङको लेटाङ नगरपालिकामा मोटरसाइकलले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।मृत्यु हुनेमा स्थानीय ५० वर्षीय अम्बिका ढकाल रहेको ईलाका प्रहरी कार ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved