चिनियाँ कम्युनिस्ट पार्टीका उच्चस्तरीय टोली नेपाल आउँदै

  • प्रकाशित मितिः पुष १२, २०७७
  • उज्यालो प्रदेश
alt

काठमाडौं । सत्ताधारी दल नेकपामा आएको विभाजनले नेपालमा राजनीतिक अस्थिरता बढ्ने देखिएपछि नेपालको राजनीतिक घटनाक्रमबारे जानकारी लिन चार सदस्यीय चिनियाँ टोली नेपाल आउने भएका छन् ।
चीनिया कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौ नेतृत्वको प्रतिनिधिमण्डल आइतबार काठमाडौं आउँने भएका हुन् ।

उपमन्त्री कुओ नेतृत्वको प्रतिनिधिमण्डल नेपालमा चार दिन रहनेछ। त्यस क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधनमन्त्री केपी शर्मा ओली, नेकपाको एक समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल, माधवकुमार नेपाललगायत नेतासँग भेटवार्ता गर्ने तय भएको छ।

चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्रीको नेतृत्वमा आउने टोलीले यहाँ रहँदा सत्तापक्षको नेकपा र सत्ताबाहिरको नेकपाका दुवै टोलीका शीर्षस्थ नेताहरूसँग भेटघाट गर्ने र त्यसका लागि समय लिने काम भएको छ’, नेकपाका एक स्थायी समिति सदस्यले भने, ‘उहाँहरू ग्राउन्डमै आएर नेकपा विभाजनको अवस्था के रहेछ भनेर बुझ्न खोज्नुभएजस्तो लाग्छ।’

नेकपा विभाजनपछि चिनियाँ कम्युनिस्ट पार्टीका तर्फबाट नेपाल आउन लागेको कुओ नेतृत्वको यो उच्चस्तरीय भ्रमण टोली हो। नेपालको सरकार चीनतिर ढल्किरहेको आरोप लाग्दै आएको थियो। नेपाल र चीनका दुई कम्युनिस्ट पार्टीबीच भाइचारा सम्बन्ध विकास भएको थियो। नेकपाको स्कुल विभाग र चीनको अन्तर्राष्ट्रिय विभागका तर्फबाट गत वर्ष असोजमा काठमाडौंमा कार्यशाला सम्पन्न भएको थियो।

उक्त कार्यशालामा सी चिनफिङ पथबारेको वैचारिक राजनीतिक प्रशिक्षण, लगत्तै चीनका राष्ट्रपति सीको नेपाल भ्रमणलगायत कारण पनि नेपालको कम्युनिस्ट पार्टी चीनतिर ढल्किएको विश्लेषण हुँदै आएको थियो। भारतसँगको सीमा विवादका कारण सम्बन्धमा खटपट भइरहेका बेला चिनियाँसँगको सम्बन्ध विकासले पनि सो खालको विश्लेषण हुँदै आइरहेको थियो।

चीनले पनि नेपालमा स्थिरता, सुशासन र विकासका लागि नेकपाको झन्डै दुईतिहाइ जनमतको सरकार आफ्ना लागि पनि भरपर्दो शक्ति हुने विश्वाससाथ सम्बन्ध विकास गरेर लैजान चाहेको थियो। सोही कारण पनि नेकपाभित्रको विवादलाई उसले सोहीअनुसार नै हेर्दै आएको थियो। विवाद मिलाउन उसले यो बीचमा निकै मिहिनेत पनि गरेको थियो।

तर, उसले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्नेसम्मको कदम चालिहाल्छन् भन्ने विश्वास गरेको थिएन। ओलीको कदमपछि नेकपामा आएको विभाजनले चीनलाई चिन्ता र सक्रियता उत्तिकै मात्रामा बढाएर लगेको छ। त्यसपछि चिनियाँ राजदूत होउ यान्छीले नेकपा नेताहरूसँगको दौडधूप बाक्लो बनाइन्। उनले राष्ट्रपति विद्यादेवी भण्डारी, नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल, माधवकुमार नेपाल, स्थायी समिति सदस्यहरू वर्षमान पुनदेखि कृष्णबहादुर महरासम्म भेट गरेकी थिइन्।

यी भेटमा नेकपाको अझै एकता कति सम्भव छ भन्ने उनको चासोको विषय थियो। अध्यक्ष दाहालसँग उनले नेकपाको एकता गराउन अब सम्भव छरछैन भनी जिज्ञासा राखेकी खुमलटार स्रोतले बताएको छ। तर, दाहालले पार्टी विभाजन आफ्नो पक्षले नभई ओली पक्षले गरेको र एकता टाढा पुगिसकेको बताएको जनाइएको छ। यो विभाजनको कारणभित्र एमसिसीदेखि विआरआईसम्मलाई हेर्ने दृष्टिकोण र पश्चिमाहरूसम्मको नेपालमा भइरहेको चलखेल कारण रहेको विषयमा शृंखलाबद्ध रूपमा आफ्नो धारणा राखिदिएको स्रोतले बताएको छ।
तर, चीनले नेकपाको विभाजनले नेपालमा अस्थिरता झन् बढ्ने र संविधान निर्माणभन्दा अगाडिको अवस्थामा नेपाल पुगेको विश्लेषण गरेको छ। त्यही भएर पनि उसले पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्रीलाई नै विभाजनभित्रको कारण खोतल्ने उद्देश्यले काठमाडौं पठाएको हुन सक्ने एक स्रोतले बताएको छ।

कुओ अन्तर्राष्ट्रिय विभागमा ३३ वर्षदेखि कार्यरत छन्। विभागका चार जना उपमन्त्रीमध्ये कुओ सबैभन्दा सिनियर नेता हुन्। नेपालको राजनीतिबारे अर्का छिमेकी राजदूत पनि दिल्ली पुगेका बेला उनको भ्रमण हुन लागेको हो।अन्नपुर्ण दैनिकले समाचार छापेको छ ।

प्रतिक्रिया दिनुहोस

ओलीले दुइबुँदे प्रतिबद्धता जनाए विश्वासको पक्षमा मतदान गर्न नेपाल समुह तयार

दुईबुँदे प्रतिबद्धताको माग अघि सार्दै एमालेको झलनाथ खनाल–माधवकुमार नेपाल पक्षका सांसदले अध्यक्ष केपी ओलीसँग सहमतिको रोड्म्याप तयार पारेका छन् । ...

केराबारीमा आइतबार ६ जनाको संक्रमण पुष्टि, संक्रमितको संख्या १८ पुग्यो

 केराबारी । मोरंगको केराबारी गाउँपालिकामा आइतवार थप ६ जना कोरोना संक्रमण पुष्टि भएको छ । केराबारी गाउँपालिका स्तरीय स्वास्थ्य शाखाका अनुसार वडा न ...

प्रधानमन्त्रीलाई विश्वासको मत दिन एमालेको ह्वीप

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभामा भोलि हुने मतदानमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने प्रस्तावको पक्षमा मत दिन सांसदहरूलाई ह्वीप ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved