जनमत निर्माण र संघर्ष प्रचण्ड–नेपाल समूह, संगठन विस्तार र निर्वाचन तयारीतिर ओली समूह

  • प्रकाशित मितिः पुष ९, २०७७
  • उज्यालो प्रदेश
alt

राजनीतिक रूपमा पार्टी विभाजनपछि नेकपाका दुवै समूह अबको रणनीति निर्माणमा जुटेका छन् । पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूह तथा प्रधानमन्त्री केपी ओली समूहले बिहीबारको केन्द्रीय कमिटी बैठकबाट आगामी कार्यक्रमको रूपरेखा बनाउने तयारी गरेका छन् । तर, उनीहरूको वैधानिकताको विषय भने निर्वाचन आयोगमा प्रवेश गरेको छ ।

ओली समूहले प्रधानमन्त्री निवास बालुवाटार र प्रचण्ड–नेपाल समूहले कार्की बैंक्वेट बबरमहलमा पार्टी विभाजनपछि पहिलोपटक बिहीबार बैठक डाकेका छन् । गत मंगलबार दुवै समूहको अलग–अलग केन्द्रीय कमिटी बैठकपछि नेकपा विभाजित भएको थियो ।

दुवै समूह मूल पार्टी दाबी गर्दै निर्वाचन आयोग पुगिसकेका छन् । ओली समूहले मंगलबार र प्रचण्ड–नेपाल समूहले बुधबार हस्ताक्षरसहित मूल पार्टी र चुनाव चिह्न सूर्य दाबी गर्दै निर्वाचन आयोगमा पुगेर आवश्यक कागजात बुझाइसकेका छन् ।

दुवै समूहले पार्टी विभाजनपछिको विकसित परिस्थितिमा अलग–अलग एजेन्डा तय गरेर बिहीबारको बैठकमा छलफल गर्दै छन् । नेकपाको साबिक केन्द्रीय कमिटीको चार सय ४१ सदस्यमध्ये दुई सय ९० जना केन्द्रीय सदस्य प्रचण्ड–नेपाल समूह र बाँकी सदस्य प्रधानमन्त्री ओली समूहको नेकपामा छन् ।

दुवै समूह एकले अर्को समूहका शीर्ष नेतादेखि केन्द्रीय सदस्य तानातान गर्नेदेखि आफ्नो समूहका नेता–कार्यकर्ता संरक्षणमा सक्रिय भएका छन् । प्रदेश र जिल्ला कमिटीदेखि तल्ला कमिटीसम्म, स्थानीय सरकारका जनप्रतिनिधिदेखि जनसंगठनको नेतृत्व पनि क्रमशः दुवै समूहको नेकपामा विभाजित भएका छन् । यद्यपि यसको अन्तिम तस्बिर आउन अझै बाँकी छ ।

त्यस्तै, प्रचण्ड–नेपाल नेकपाले प्रधानमन्त्री ओलीले विघटन गरेको प्रतिनिधिसभा पुनस्र्थापनाको मागलाई महत्वको एजेन्डा बनाएर छलफल गर्दै छ । संसद् विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमको राजनीतिक, कानुनी र संवैधानिक रूपमा प्रतिवाद गर्ने प्रचण्ड–नेपाल समूहको निर्णय छ ।

संसद पुनस्र्थापनाका लागि कानुनी लडाइँका लागि मंगलबार प्रचण्ड–नेपाल समूहका सांसदहरूले ९० जनाको हस्ताक्षरसहित सर्वोच्च अदालतमा रिटसमेत दायर गरेका थिए । बैठकमा पुनस्र्थापनाको मागका लागि संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग मिलेर चलाइने आन्दोलनका कार्यक्रमदेखि पार्टीका तर्फबाट गरिने कार्यक्रमका स्वरूपबारे समेत छलफल गर्ने तयारी छ ।

स्थायी कमिटी सदस्य बेदुराम भुसालले बैठकले प्रतिनिधिसभा पुनस्र्थापनाको आन्दोलनको स्वरूप र खाकाबारे निर्णय गर्ने जानकारी दिए । ‘प्रतिनिधिसभा पुनस्र्थापनाका सन्दर्भमा गरिने आन्दोलनको खाकाबारे बैठकले निर्णय गर्ने सम्भावना छ,’ भुसालले भने । सोमबारसम्म राजधानीमा ठूलो प्रदर्शन गर्ने प्रचण्ड–नेपाल समूहकोे तयारी छ ।

मंगलबार बसेको बैठकले प्रधानमन्त्री ओलीले पार्टी हित र एकताविरुद्ध काम गरेको अभियोग लगाउँदै पार्टी अध्यक्ष पदबाट हटाउने कारबाही गरेको थियो । बैठकले ओलीको रिक्त पदमा पूर्वएमाले समूहको तर्फबाट वरिष्ठ नेता नेपाललाई सर्वसम्मत अध्यक्ष चयन गरेको थियो ।

संगठनको क्षेत्रमा के गर्दै छ प्रचण्ड–नेपाल समूह?

प्रचण्ड–नेपाल नेकपाको बैठकमा संगठनात्मक कार्ययोजनासम्बन्धी एजेन्डामा पनि छलफल गर्ने तयारी छ । महासचिव विष्णु पौडेलले प्रधानमन्त्री ओलीलाई समर्थन गरेकाले प्रचण्ड–नेपाल समूह पार्टी कार्यालय, बैठक सञ्चालनदेखि दैनिक कार्यसम्पादनका लागि तत्काल महासचिव चयन गर्नुपर्ने दबाबमा परेको छ । तर, तत्काल पदाधिकारी थप्ने सम्भावना कम छ ।

प्रचण्ड–नेपाल समूहले सचिवालयदेखि केन्द्रीय कमिटीसम्म, विघटित संसदीय दलमा पनि बहुमत भएकाले संस्थापन समूहको दाबी गरेको छ । यो तर्कका आधारमा अध्यक्षद्वय प्रचण्ड र नेपालले पौडेलको स्थानमा महासचिव पूर्वएमाले समूहबाटै बनाउने प्रारम्भिक समझदारी गरेका छन् । पौडेलले पूर्वएमाले समूहकै प्रतिनिधित्व गर्थे । तर, केन्द्रीय कमिटीबाट चयन गर्ने कि स्थायी कमिटीबाट भन्ने टुंगो नलागिसकेको एक स्थायी कमिटी सदस्यले बताए । ‘यो बैठकले रिक्त स्थानमा पदपूर्ति गर्दैन,’ स्थायी कमिटीका एक सदस्यले भने ।

यद्यपि, पूर्वएमाले समूहबाट सुरेन्द्र पाण्डे र पूर्वमाओवादी समूहबाट जनार्दन शर्माले महासचिवमा दाबी पेस गरेका छन् । ‘सम्भवतः महासचिवसहित केन्द्रीय सचिवालय, रिक्त स्थायी कमिटी सदस्यको पदपूर्तिलगायतका विषयमा केन्द्रीय कमिटीले स्थायी कमिटीले नै टुंगो लगाउने गरी जिम्मा लगाउन सक्नेछ,’ ती नेताले भने ।

ओली समूह संगठन विस्तार र निर्वाचन तयारीतिर

मंगलबार सम्पन्न केन्द्रीय कमिटी बैठकलगत्तै नेकपाको ओली समूह संगठन विस्तार र निर्वाचनको तयारीमा जुटेको छ । बिहीबार बस्ने बैठकमा त्यसबारे केन्द्रीय सदस्यलाई बालुवाटारमा डाकिएको बैठकमा प्रशिक्षण दिने गरी ओली समूहले गृहकार्य गरेको छ । प्रचण्ड–नेपाल समूहले जस्तै ओली नेकपाले पनि रिक्त रहेका प्रदेश र जिल्लाहरूमा तत्काल इन्चार्ज र सहइन्चार्ज तोकेर बैठक, भेला र प्रशिक्षणमूलक तयारीलाई तीव्रता दिने गरी आन्तरिक गृहकार्य गरेको छ भनि नया पत्रिका दैनिकले छापेको छ ।

 

प्रतिक्रिया दिनुहोस

ओलीले दुइबुँदे प्रतिबद्धता जनाए विश्वासको पक्षमा मतदान गर्न नेपाल समुह तयार

दुईबुँदे प्रतिबद्धताको माग अघि सार्दै एमालेको झलनाथ खनाल–माधवकुमार नेपाल पक्षका सांसदले अध्यक्ष केपी ओलीसँग सहमतिको रोड्म्याप तयार पारेका छन् । ...

केराबारीमा आइतबार ६ जनाको संक्रमण पुष्टि, संक्रमितको संख्या १८ पुग्यो

 केराबारी । मोरंगको केराबारी गाउँपालिकामा आइतवार थप ६ जना कोरोना संक्रमण पुष्टि भएको छ । केराबारी गाउँपालिका स्तरीय स्वास्थ्य शाखाका अनुसार वडा न ...

प्रधानमन्त्रीलाई विश्वासको मत दिन एमालेको ह्वीप

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभामा भोलि हुने मतदानमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने प्रस्तावको पक्षमा मत दिन सांसदहरूलाई ह्वीप ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved