प्रदेश २ बाहेक सबै प्रदेशमा प्रचण्ड–नेपाल समूह बलियो

  • प्रकाशित मितिः पुष ८, २०७७
  • उज्यालो प्रदेश
alt

नेकपाभित्र गण्डकीबाहेक ६ वटा प्रदेशमा ओली समूह कमजोर देखिएको छ । पार्टी विभाजन हुँदा अल्पमतमा पर्ने मुख्यमन्त्रीहरूले सरकार जोगाउन कांग्रेस र साना दलको साथ लिनैपर्ने देखिएको छ । हालका मुख्यमन्त्रीलाई हटाएर सरकार गठन गर्न प्रचण्ड–नेपाल समूहले पनि कांग्रेस र साना दलकै साथ लिनुपर्नेछ ।

प्रदेश–१ का मुख्यमन्त्री संकटमा

प्रदेश–१ मा नेकपा पार्टी कमिटी र प्रदेश सभा दुवैमा प्रधानमन्त्री केपी ओली समूह अल्पमतमा छ । सोही कारण मुख्यमन्त्री शेरधन राई संकटमा परेका छन् । मुख्यमन्त्री राई भने ओली समूहका हुन् । आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्की, उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्री जगदिश कुसियत र भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङ ओली समूहका हुन् । सामाजिक विकासमन्त्री जीवन घिमिरे र राज्यमन्त्री जसमाया गजमेर तथा आर्थिक मामिलामन्त्री इन्द्र आङ्बो प्रचण्ड–नेपाल समूहका हुन् । भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामराना झलनाथ खनाल पक्षका हुन् । पूर्वएमालेका ५१ जना प्रदेश सांसदमध्ये ओली पक्षमा २० जना छन् । पूर्वमाओवादीका १६ जना प्रचण्डकै पक्षमा प्रतिबद्ध छन् । समानुपातिकसहित ६७ सदस्यीय नेकपा संसदीय दलमा प्रचण्ड–नेपाल समूहका ४७ र ओलीका २० जना छन् ।

सभामुख प्रदीपकुमार भण्डारी नेपालनिकटस्थ र उपसभामुख सरस्वती पोखरेल प्रचण्डनिकट हुन् । संसदीय दल उपनेता टंकबहादुर आङबुहाङ प्रचण्डनिकटस्थ हुन् । प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी ओली समूहका हुन् ।

पार्टी प्रदेश कमिटीमा प्रचण्ड–नेपाल बलियो

नेकपा प्रदेश–१ कमिटी सुरुमा दुई सय सात सदस्यीय थियो । पछिल्लोपटक विधानअनुसार १० प्रतिशत सदस्य मनोनयन गरिएको छ । प्रदेश कमिटीमा साबिक माओवादीको ४० प्रतिशत रहेकाले त्यसमा नेपालनिकट सदस्यहरू थप गर्दा ७० प्रतिशतभन्दा बढी आफ्नो पक्षमा रहेको प्रचण्ड–नेपाल समूहको दाबी छ ।

प्रदेश–१ कमिटी अध्यक्ष देवराज घिमिरे ओली समूहका हुन् भने सचिव सुरेश किराँती प्रचण्डनिकट हुन् । प्रदेश–१ इन्चार्ज भीम आचार्य नेपालनिकट, सहइन्चार्जहरू सावित्रीकुमार काफ्ले प्रचण्डनिकट र नरेश खरेल नेपालनिकट हुन् । अर्का सहइन्चार्ज तथा प्रदेशका मुख्यमन्त्री शेरधन राई ओलीनिकट हुन् ।

प्रदेश–१ का १४ जिल्लामा इन्चार्ज रहेका १४ जना केन्द्रीय सदस्यमध्ये १३ जना प्रचण्ड–नेपाल समूहमा छन् । खोटाङका इन्चार्ज विशाल भट्टराई मात्र ओली समूहका हुन् । ताप्लेजुङका भाष्कर काफ्ले, झापाका रविन कोइराला, मोरङका घनेन्द्र बस्नेत, सुनसरीका धर्म निरौला, संखुवासभाका राजेन्द्रकुमार राई, ओखलढुंगाका यज्ञराज सुनुवार र उदयपुरका बलदेव चौधरी नेपालनिकट हुन् । पाँचथरका इन्द्रबहादुर आङ्बो, इलामका धीरेन शर्मा, धनकुटाका हेमराज भण्डारी, तेह्रथुमका जयन्ती राई, भोजपुरका सुदन किराँती र सोलुखुम्बुका हेमकुमार राई प्रचण्डनिकट हुन् ।

यस्तै, १४ जिल्लाका २५ सहइन्चार्जमध्ये १६ जना प्रचण्ड–नेपाल समूहमा खुलेका छन् । दुईजना जिल्ला सहइन्चार्जहरू कतै पनि खुलेका छैनन् । सहइन्चार्जहरूमा झापाकी धर्मशिला चापागाईं, ताप्लेजुङका पासाङ शेर्पा, मोरङका गोपी अछामी, सुनसरीका एकचन्द्र बराल, रामकुमारी चौधरी, तेह्रथुमका दुर्गा चापागाईं, संखुवासभाका राजेन्द्र कार्की, खोटाङका रामकुमार राई र समिता कार्की प्रचण्डनिकट हुन् । यस्तै, मोरङका महेश रेग्मी र देउमान सम्बाहाम्फे, सुनसरीका मोहमद महुज अन्सारी, भोजपुरका हरिबहादुर राई, खोटाङका दुर्गाजयन्ती राई र राजन राई नेपालनिकट हुन् । पाँचथरका अइन्द्रसुन्दर नेम्वाङ, झापाका देवेन्द्र दाहाल, सुनसरीका जगदिश कुसियत, तैयव हुसेन र भगवती चौधरी, तेह्रथुमका विजय सुब्बा र उदयपुरका मञ्जु चौधरी ओली समूहका हुन् । झापाका सहइन्चार्ज हरिबहादुर राजवंशी र ताप्लेजुङका तिलकुमार मेयाङ्बो कतै खुलेका छैनन् ।

१४ मध्ये सात जिल्लाका अध्यक्षहरू प्रचण्ड–नेपाल समूहका छन् । पाँच जिल्लाका अध्यक्ष ओली समूहमा छन् भने दुई जिल्ला अध्यक्षहरू तटस्थ छन् । इलामका राम राना र धनकुटाका अध्यक्ष राजेन्द्र राई आफ्नो समूहमा रहने दुवै पक्षको दाबी छ । राना नेता झलनाथ खनालनिकट भए पनि प्रदेश सरकारमा मन्त्री रहेकाले नखुलेको प्रचण्ड–नेपाल समूहको दाबी छ । राई पनि आफूसँग रहेको उक्त समूहको भनाइ छ ।

जिल्ला अध्यक्षहरूमा ताप्लेजुङका विजय बनेम, सुनसरीका योगेन्द्र मण्डल, खोटाङका देवान चाम्लिङ, ओखलढुंगाका मोहनकुमार खड्का र उदयपुरका विनोद कटवाल प्रचण्डनिकट हुन् । यस्तै, तेह्रथुमका लक्ष्मण तिवारी र संखुवासभाका हेमराज घिमिरे नेपालनिकट हुन् । पाँचथरका अध्यक्ष राजकुमार भण्डारी, झापाका चिन्तन पाठक, मोरङका ऋषिकेश पोखरेल, भोजपुरका प्रेमकुमार राई र सोलुखुम्बुका मानवीर राई ओली समूहका हुन् । १४ वटै जिल्लाका सचिवहरू प्रचण्ड–नेपाल समूहमा खुलेका छन् । प्रदेश १ मा जिल्लासरहको हैसियत राख्ने विराटनगर महानगर कमिटीका इन्चार्ज शिवकुमार मण्डल र सचिव हेम कार्की प्रचण्डनिकट हुन् । महानगर अध्यक्ष सागर थापा भने ओली समूहका हुन् ।

प्रदेश–१ बाट नेकपा केन्द्रीय सचिवालयमा प्रतिनिधित्व गर्ने दुईजनामध्ये प्रधानमन्त्री केपी ओली र पूर्वअध्यक्ष झलनाथ खनाल फरक समूहमा छन् । स्थायी समिति सदस्यहरू योगेश भट्टराई, भीम आचार्य र आमन्त्रित स्थायी कमिटी सदस्य पेशल खतिवडा प्रचण्ड–नेपाल समूहमा छन् । संघीय सरकारका स्वास्थ्यमन्त्री भानुभक्त ढकाल ९मोरङ० र कानुनमन्त्री शिवमाया तुम्बाहाम्फे ९मोरङ०सहित केन्द्रीय सदस्यहरू मोरङकै विनोद ढकाल र गुरु बराल तथा संखुवासभाका राजेन्द्र गौतम ओली समूहमा छन् । केन्द्रीय सदस्यहरू झापाका राम कार्की, ताप्लेजुङका टंक आङ्बुहाङ, भोजपुरका अजम्बर काङबाङ र पदम राई, सुनसरीका किरण राई, सोलुखुम्बुका शिवबहादुर बस्नेत, उदयपुरका जगन्नाथ खतिवडा प्रचण्ड–नेपाल समूहमा छन् ।

प्रदेश–२ मा पनि प्रचण्ड–नेपाल समूह बलियो

प्रदेश–२ प्रदेशसभामा नेकपाका ३२ जना सदस्य छन् । तीमध्ये ११ जना तत्कालीन माओवादी केन्द्रका हुन् । नौजना नेपाल समूहका छन् । दुवैगरी दाहाल–नेपाल समूहमा २० जना छन् भने ओली समूहका १२ जना मात्रै छन् । प्रदेश २ बाट प्रचण्ड–नेपाल समूह केन्द्रीय समिति, स्थायी समिति र संघीय संसद्मा पनि बलियो छ । प्रदेश–२ बाट प्रतिनिधित्व गर्ने स्थायी समिति सदस्यहरू रघुवीर महासेठ, मातृका यादव, गिरिराजमणि पोखरेल र सत्यनारायण मण्डल गरी चारजना छन् । तीमध्ये सत्यनारायण मण्डलबाहेक सबै प्रचण्ड–नेपाल समूहकै हुन् । ओली समूहका मण्डल प्रदेश–२ मा संसदीय दलका नेता एवं इन्जार्च हुन् । यस्तै, प्रदेश २ बाट ७० जना केन्द्रीय सदस्यमध्ये ६०–४० को भागबन्डाका हिसाबले २८ जना दाहालनिकट र २० जना नेपालनिकट छन् । नेकपा प्रदेश–२ संयोजक प्रभु साहले ओलीभन्दा प्रचण्ड–नेपाल समूह प्रदेश २ मा मजबुत रहेको बताए ।

पति प्रचण्ड–नेपाल, पत्नी ओली समूहमा

प्रदेश–२ का नेकपा नेता रघुवीर महासेठ प्रचण्ड–नेपाल समूहमा छन् भने उनकी पत्नी जुली महतो ओली समूहमा विभाजित भएका छन् । राजधानीमा नेकपाका दुई समूहको केन्द्रीय समिति बैठकका क्रममा महासेठ बबरमहलमा जारी प्रचण्ड–नेपाल समूहको बैठकमा सहभागी भएका थिए भने उनकी पत्नी जुली महतो बालुवाटारमा जारी ओली समूहको भेलामा सहभागी थिइन् ।

बागमतीमा नयाँ सरकार बनाउन कांग्रेस निर्णायक

सत्तारुढ नेकपा औपचारिक रूपमा विभाजन हुँदा बागमति प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल अल्पमतमा पर्नेछन् । उनी त्यसै पनि संसदीय दलमा अल्पमतमै थिए । एक सय १० सदस्यीय प्रदेशसभामा नेकपाका ८० सांसद छन् । तीमध्ये प्रधानमन्त्री ओली अर्थात् मुख्यमन्त्री पौडेलको पक्षमा ३४ र प्रचण्ड–नेपाल समूहका ४६ सांसद छन् । पार्टीको आन्तरिक विवादका कारण यसअघि पनि नेकपाकै सांसदहरूले पौडेललाई मुख्यमन्त्रीबाट हटाउन खोजेका थिए, तर केन्द्रको हस्तक्षेपका कारण उनको पद जोगिएको थियो ।

पार्टी विभाजन हुँदा मुख्यमन्त्री पौडेललाई बहुमत जुटाउन २२ सांसद अपुग हुनेछन् । कांग्रेसले जसलाई साथ दिन्छ, उसैले सरकार बनाउने छ । जस्तो– मुख्यमन्त्री पौडेलले पद जोगाउन कांग्रेसकै साथ लिनुपर्नेछ । प्रदेश सभामा प्रमुख प्रतिपक्षी कांग्रेसका २२, विवेकशील साझाका तीन, राप्रपा र नेमकिपाका दुई–दुई र एक स्वतन्त्र सांसद छन् ।

मुख्यमन्त्री पौडेललाई हटाएर सरकारको नेतृत्व गर्न प्रचण्ड–नेपाल समूहलाई पनि कांग्रेसकै आवश्यकता पर्नेछ । यो समूहलाई बहुमत पु¥याउन १० सांसद आवश्यक पर्छन् । कांग्रेसबाहेकका दल मात्रै जुटाएर आवश्यक संख्या पुग्दैन । नयाँ सरकार गठनका लागि निर्णायक रहेको कांग्रेसले पनि नेकपा विभाजनको फाइदा उठाउँदै सरकारको नेतृत्व पाउने सम्भावना उत्तिकै छ ।

प्रदेश सभामा ५८ सिटसहित तत्कालीन एमाले एक्लैको बहुमत थियो । संसदीय दलको निर्वाचनमा पौडेलले ३४ र तत्कालीन उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले २४ मत पाएका थिए । पछि पार्टी एकता हुँदा तत्कालीन माओवादीको २२ सिट पनि थपियो । त्यसपछि प्रदेश सभामा नेकपाका कुल सांसद ८० पुगेका थिए ।

सात सदस्यीय मन्त्रिपरिषद्मा मुख्यमन्त्री पौडेल र तीनजना मन्त्री ओली पक्षका छन् । आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेल, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामा र भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फँुयाल ओली पक्षका हुन् । आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेल र सामाजिक विकासमन्त्री युवराज दुलाल प्रचण्ड पक्षका हुन् । यस्तै, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपाल माधव नेपाल पक्षका हुन् ।

गण्डकीमा प्रदेश सभामा ओली समूह ठूलो

६० सदस्यीय गण्डकी प्रदेश सभामा नेकपाका मात्र ४० सदस्य छन् । तीमध्ये प्रचण्डनिकटस्थ १२ र नेपालनिकटका एक गरी प्रचण्ड–नेपाल समूहमा १३ जना मात्र छन् । बाँकी २७ जना ओली समूहका हुन् ।

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ ओली समूहका हुन् । प्रचण्ड–नेपाल समूहका प्रदेश सांसदहरू अलग्गिँदा गुरुङले विश्वासको मत प्राप्त गर्न साना दलको सहारा लिनुपर्नेछ । राष्ट्रिय जनमोर्चा र जसपाले साथ दिएमा उनको मुख्यमन्त्री पद जोगिन सक्छ । प्रचण्ड–नेपाल समूहलाई भने कांग्रेसको मात्र साथ लिएर पुग्ने छैन । उक्त समूहले सबै साना दललाई साथ लिनुपर्नेछ ।

गण्डकी प्रदेश सभामा कांग्रेसका १५ सदस्य छन् । यस्तै, जसपाका दुई र राष्ट्रिय जनमोर्चाका तीन सांसद छन् । संघीय गृहमन्त्री रामबहादुर थापा बादलको समूहमा खुलेका गण्डकी प्रदेश सभामा तीनजना छन् । ओली समूहले उनीहरू आफ्नो पक्षमा रहेको दाबी गरेको छ । तर, बादलनिकटस्थ मानिने आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले तीनैजना प्रचण्ड–नेपाल समूहमा रहेको स्पष्ट पारे । उनले भने, ‘कसैले द्विविधा पाल्न जरुरी छैन । प्रदेशमा हिजो बादल पक्षका भनेर चिनिएका हामी तीनजना प्रचण्ड–नेपालको पक्षमा छौँ ।’ बादललाई पनि प्रचण्ड–नेपाल समूहमै आउन मंगलबार आफूहरूले आग्रह गरेको उनले जानकारी दिए । बादल पनि प्रचण्ड–नेपाल समूहमै रहने उनको दाबी छ ।

लुम्बिनीका मुख्यमन्त्री पनि अल्पमतमा पर्ने

सत्तारुढ नेकपा विभाजन हुँदा लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा पर्दै छन् । उनलाई सरकार जोगाउन कांग्रेसको साथ चाहिनेछ । ८७ सदस्यीय प्रदेश सभामा नेकपाका ६१ सांसद छन् । प्रधानमन्त्री ओली अर्थात् मुख्यमन्त्री पोखरेल पक्षका ३५ र प्रचण्ड–नेपाल पक्षका २६ सांसद छन् । यस्तै, कांग्रेसका १९, जसपाका ६ र जनमोर्चाका एक सांसद छन् ।

पार्टी विभाजनले प्रदेश सभामा पर्ने असरको जोडघटाउ सुरु भइसकेको छ । नेपाल पक्षका सांसद विष्णु पन्थीले मुख्यमन्त्री पोखरेल अल्पमतमा पर्ने भएपछि आफ्नो खेमामा रहेका चार सांसदलाई मंगलबार ओली पक्षले केन्द्रीय सदस्यमा मनोनीत गरेको बताए । प्रदेश सभामा तत्कालीन एमालेले ४१ सिट जितेको थियो । त्यसमध्ये ओली पक्षका ३१ र नेपाल पक्षका १० सांसद थिए । यस्तै, तत्कालीन माओवादीले २० सिट जितेको थियो । गृहमन्त्री बादलनिकटका दुई सांसद अहिलेसम्म कतै खुलेका छैनन् । बादल जता लागे उनीहरू पनि उतै लाग्ने अनुमान छ ।

पार्टी फुट्दा मुख्यमन्त्री पोखरेललाई बहुमत जुटाउन नौ सांसद आवश्यक पर्छन् । यस्तो अवस्थामा उनले कांग्रेसको साथ लिनुपर्नेछ । बादलले ओलीलाई साथ दिएको खण्डमा प्रदेश सभामा रहेको उनका दुई सांसद पनि मुख्यमन्त्री पोखरेलको पक्षमा खुल्ने विश्वास यो खेमाको देखिन्छ । यस्तो अवस्थामा जसपा र जनमोर्चाका सांसदलाई साथमा लिएर पनि पोखरेलले सरकारको नेतृत्व गर्न सक्नेछन् । यस्तै, प्रचण्ड–नेपाल पक्षलाई सरकारको नेतृत्व गर्न कांग्रेसको समर्थन आवश्यक पर्छ । तर, ओली पक्षको दाबी भने फरक छ । प्रदेश सभामा नेकपा प्रमुख सचेतक रहेका ओली पक्षका भूमिश्वर ढकालले तत्कालीन एमालेका ४१ सांसद एकै ठाउँ उभिने दाबी गरे । ‘धेरै फरक परे ४१ मध्येबाट एकजना मात्रै कम हुन्छन् । त्यस्तो अवस्थामा जसपासँग मिलेर सरकार सञ्चालन गर्न सकिन्छ,’ उनले भने ।

कर्णालीमा प्रचण्ड–नेपाल समूह बलियो

हाल नेकपा विभाजनको एक मुख्य चुरो कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव पनि हो । कर्णाली नेकपामा प्रचण्ड–नेपाल समूह स्पष्ट बहुमतमा देखिएको छ । प्रदेशका १० जिल्लामध्ये प्रचण्डनिकटस्थ चार र नेपालनिकटका दुई जिल्ला अध्यक्ष छन् । जुम्लाका वीरबहादुर कुँवर, रुकुम पश्चिमका गोपाल शर्मा, हुम्लाका लालकेश जैशी र मुगुका सुरवीर बुढा प्रचण्डनिकटस्थ हुन् । सुर्खेतका ध्रुव शाही र डोल्पाका दत्तबहादुर रोकाया नेपालनिकट हुन् । प्रधानमन्त्री ओलीको समूहमा दैलेखका रवीन्द्र शर्मा र सल्यानका गोविन्द पुन मात्र छन् । जाजरकोटका ढकवीर राना र कालिकोटका धनजित शाही गृहमन्त्री बादलको समूहका हुन् ।

जिल्ला सचिवमध्ये प्रचण्ड–नेपाल समूहमा सुर्खेतका कृष्णबहादुर जिसी, सल्यानका कर्णबहादुर बुढाथोकी, डोल्पाका मालबहादुर रोकाय, दैलेखका प्रेम कटुवाल, जाजरकोटका करवीर शाही, जुम्लाका तीर्थबहादुर बुढा, मुगुका धर्मबहादुर शाही र रुकुमपश्चिमका विमल पुन छन् । ओली समूहमा कालिकोटका नागिन्द्र शाही र हुम्लाका दल रावल छन् ।

कर्णाली प्रदेश सभामा ४० मध्ये नेकपाका ३३ सांसद छन् । तीमध्ये प्रचण्डनिकट १० र नेपालनिकट आठ गरी १८ जना प्रचण्ड–नेपाल समूहका छन् । ओली समूहका १२ र बादलनिकटका तीन सांसद छन् । बादल समूहका तीनै सांसदले प्रधानमन्त्री ओलीको कदमलाई असंवैधानिक भनेका छन् । त्यसैले उनीहरूसहित प्रचण्ड–नेपाल समूहमा २१ सांसद देखिएका छन् । र, प्रचण्ड–नेपाल समूह स्पष्ट बहुमतमा देखिएको छ । ‘बादलजी ओलीसँग सती जानुभयो भन्दैमा हामी पनि सती जान तयार छैनौँ,’ एक सांसदले भने । दुवै समूहमा स्पष्ट बहुमत नभएकाले सरकार गठन गर्न ६ सांसद रहेको कांग्रेसको समर्थन अनिवार्य देखिएको छ ।

कर्णालीमा प्रधानमन्त्री ओली गुटको नेतृत्व नेकपा कर्णाली प्रदेश सह–इन्चार्ज तथा प्रदेशसभा सदस्य यामलाल कँडेलले गरेका छन् । नेपाल समूहको नेतृत्व केन्द्रीय सदस्य तथा कर्णाली प्रदेशका आर्थिक मामिलामन्त्री प्रकाश ज्वालाले गरिरहेका छन् । यस्तै, बादल समूहको नेतृत्व कर्णाली सचिव तथा राष्ट्रियसभा सदस्य मायाप्रसाद शर्माले गर्छन् । प्रचण्ड समूहको नेतृत्वमा कर्णाली प्रदेश इन्चार्ज जनार्दन शर्मा र शक्तिबहादुर बस्नेत छन् ।

सुदूरपश्चिममा सरकार ढुक्क

सुदूरपश्चिम प्रदेश र पार्टीका सबैजसो कमिटीमा ओली पक्ष कमजोर छ । ५३ सदस्यीय प्रदेश सभामा सभामुखसहित नेकपामा ३९ सदस्य छन् । तीमध्ये ओली पक्षका चारजना मात्र छन् । प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरा, प्रदेश सभामा विधायन समितिका सभापति नेपालु चौधरी र नेकपा कैलाली जिल्ला अध्यक्षसमेत रहेका रतन थापा ओली पक्षमा खुलेका छन् ।

प्रदेश सभा सदस्य लीलाधर भट्ट पनि ओली पक्षका मानिन्छन्, तर पार्टी फुट्ने परिस्थितिमा उनले ओली पक्षलाई साथ नदिने नेकपाकै नेताहरूको दाबी छ । सात सदस्यीय प्रदेश मन्त्रिपरिषद्मा बोहरा मात्रै ओली पक्षीय हुन् । प्रदेशमा प्रचण्ड–नेपाल पक्षको स्पष्ट बहुमत छ ।

नेकपा प्रदेश कमिटीमा पनि ओली पक्ष कमजोर छ । प्रदेश इन्चार्ज भीम रावलसहित सचिव नेपबहादुर चौधरी, सहइन्चार्जहरू लक्ष्मणदत्त जोशी र खगराज जोशी प्रचण्ड–नेपाल पक्षमा छन् । अध्यक्ष कर्ण थापा ओलीका विश्वास पात्र हुन् । अर्का सहइन्चार्ज भानुभक्त जोशी पनि अहिले ओली पक्षमा पुगेको नेकपाका एक नेताले बताए ।

प्रदेशका नौमध्ये पाँच जिल्लाका इन्चार्ज ओली पक्षका छन् । डोटीका इन्चार्ज प्रेम आले, बझाङका भैरवबहादुर सिंह, दार्चुलाका वीरबहादुर ठगुन्ना, बैतडीका दामोदर भण्डारी र बाजुराका लालबहादुर थापा ओली पक्षका हुन् । उनीहरू विघटित प्रतिनिधिसभा सदस्य पनि हुन् । यद्यपि, ओली पक्षका रहँदै आएका बझाङका इन्चार्ज सिंहले प्रधानमन्त्रीविरुद्धको अविश्वास पत्रमा हस्ताक्षर गरेका छन् ।

जिल्ला अध्यक्षमा प्रचण्ड–नेपाल पक्षका बढी छन् । अछाम, कैलाली र डोटीमा जिल्ला अध्यक्ष ओली पक्षका छन् । सुदूरपश्चिमबाट नेकपाका ३६ जना केन्द्रीय सदस्य छन् । केन्द्रीय सदस्य दुवै पक्षमा बराबरी रहेको बताइन्छ ।

सुदूरपश्चिममा प्रतिनिधि सभाका १६ निर्वाचन क्षेत्रमध्ये १४ ठाउँमा नेकपाले जितेको थियो । डडेल्धुरामा कांग्रेस सभापति शेरबहादुर देउवा र कैलाली क्षेत्र नम्बर १ बाट राजपाका उम्मेदवार रेशम चौधरी ९हाल जेलमा०बाहेक सबै ठाउँमा नेकपाले जितेको थियो । तीमध्ये बझाङका भैरवबहादुर सिंहबाहेक सातजना प्रचण्ड–नेपाल पक्षमा छन् । अधिकांश स्थानीय तहमा प्रचण्ड–नेपाल पक्षकै जनप्रतिनिधि छन् ।

सुदूरपश्चिमका प्रभावशाली नेता लेखराज भट्ट केही समयपहिलेदेखि नै ओली पक्षमा छन् । त्यसैले, उनीनिकट पूर्वमाओवादी खेमाका केही नेता ओली पक्षमा जान सक्ने अनुमान छ । प्रदेश सभामा पनि भट्टनिकट कम्तीमा दुईजना ओली पक्षमा जानसक्ने नेकपाका नेता, कार्यकर्ताको अनुमान छ ।नयापत्रिकाबाट

प्रतिक्रिया दिनुहोस

ओलीले दुइबुँदे प्रतिबद्धता जनाए विश्वासको पक्षमा मतदान गर्न नेपाल समुह तयार

दुईबुँदे प्रतिबद्धताको माग अघि सार्दै एमालेको झलनाथ खनाल–माधवकुमार नेपाल पक्षका सांसदले अध्यक्ष केपी ओलीसँग सहमतिको रोड्म्याप तयार पारेका छन् । ...

केराबारीमा आइतबार ६ जनाको संक्रमण पुष्टि, संक्रमितको संख्या १८ पुग्यो

 केराबारी । मोरंगको केराबारी गाउँपालिकामा आइतवार थप ६ जना कोरोना संक्रमण पुष्टि भएको छ । केराबारी गाउँपालिका स्तरीय स्वास्थ्य शाखाका अनुसार वडा न ...

प्रधानमन्त्रीलाई विश्वासको मत दिन एमालेको ह्वीप

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभामा भोलि हुने मतदानमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने प्रस्तावको पक्षमा मत दिन सांसदहरूलाई ह्वीप ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved